YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:1-11

१ शमूएल 17:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पलिश्‍तीहरूले युद्धको निम्‍ति आफ्‍नो फौज जम्‍मा गरे, र यहूदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस-दम्‍मीममा छाउनी हाले। शाऊल र इस्राएलीहरू पनि भेला भएर एलाहको बेँसीमा छाउनी हाले। तिनीहरूले पलिश्‍तीहरूका सामु पङ्‌क्ति बाँधे। पलिश्‍तीहरू एउटा डाँड़ामा र इस्राएलीहरू अर्को डाँड़ामा ठाउँ ओगटेर बसे, तिनीहरूका बीचमा एउटा बेँसी थियो। पलिश्‍तीहरूको छाउनीबाट गातको गोल्‍यत नाउँको एक जना वीर निस्‍केर आयो। त्‍यो तीन मिटरभन्‍दा अल्‍गो थियो। त्‍यसको शिरमा काँसाको टोप थियो, र साठी किलो ओजन भएको काँसाको झिलम त्‍यसले लगाएको थियो। त्‍यसका खुट्टामा काँसाका झिलम थिए, र त्‍यसका हतियारहरूमध्‍ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्‍यसले बोक्‍यो। त्‍यसको भालाको लट्ठी कपड़ा बुन्‍ने जुलाहाको डन्‍डाजत्रो थियो, र भालाको टुप्‍पा, जो फलामको थियो, त्‍यसको ओजन सात किलो थियो। त्‍यसको ढाल बोक्‍ने त्‍यसको अगिअगि हिँड्‌थ्‍यो। गोल्‍यत खड़ा भयो र इस्राएलको फौजलाई भन्‍यो, “तिमीहरू किन लड़ाइँ गर्नलाई आउँछौ? म पलिश्‍ती हुँ। के तिमीहरू शाऊलका सेवक होइनौ? मसँग लड्‌नलाई तिमीहरूको मानिस चुन। यदि एकलै लड़ेर त्‍यसले मलाई मार्न सक्‍यो भने हामी तिमीहरूका कमारा हुनेछौं। तर यदि मैले त्‍यसलाई जितेर मारें भने तिमीहरूले हाम्रा कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। तब त्‍यस पलिश्‍तीले भन्‍यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्‍छ गन्‍छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।” जब शाऊल र इस्राएलीहरूले त्‍यस पलिश्‍तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्‍न भए।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले। शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्‌क्ति बाँधेर तैनाथ भए। बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए। पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो। त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल ओजन भएको काँसोको झिलम लगाएको थियो; त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो। त्यसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो। तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्‌क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ। यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।” तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।” त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पलिश्‍तीहरू लडाइँ गर्न यहूदाको सोको भन्‍ने सहरमा जम्‍मा भए। तिनीहरूले सोको र आजेकाको बीचमा भएको एपेस-दम्‍मीम भन्‍ने ठाउँमा आफ्‍नो छाउनी हाले। शाऊल र इस्राएलीहरूले जम्‍मा भएर एलाहको बेसीमा छाउनी हाले र पलिश्‍तीहरूसित लड्‍ने तयारी गर्न लागे। एउटा डाँडामा पलिश्‍तीहरू र अर्को डाँडामा इस्राएलीहरू पङ्क्ति बाँधेर उभिए र बीचमा बेँसी पर्थ्‍यो। गात सहरको गोल्यत नाम गरेको मानिस पलिश्‍तीहरूका छाउनीबाट इस्राएलीहरूसित जोरी खोज्‍न निस्‍किआयो। त्‍यो प्राय: साढे छ हात अग्‍लो थियो र त्‍यसले प्राय: सन्‍ताउन्‍न किलोग्राम ओजन भएको काँसाको झिलम र काँसाको टोप लगाउँथ्‍यो। त्‍यसका गोडा पनि बचाउन काँसाका पाताले ढाकेका थिए र काँधमा काँसाको भाला भिरेको थियो। त्‍यसको बर्छा जुलाहाको तानको डण्डाजत्रै मोटो थियो र बर्छाको फलामको टुप्‍पाको वजन सात किलोग्रामजति थियो। त्‍यसको अघिअघि एक जना सिपाही त्‍यसको ढाल बोकेर हिंड्थ्‍यो। गोल्यतले उभिएर इस्राएलीहरूलाई जोडले कराएर भन्‍यो, “त्‍यहाँ लडाइँ गर्न खडा भएर तिमीहरू के गर्दछौ? ए शाऊलका कमाराहरू हो, म पलिश्‍ती हुँ। मसित लड्‍न तिम्रा एक जना मानिसलाई छान। त्‍यसले मलाई जितेर मार्‍यो भने हामी तिम्रा कमारा बन्‍नेछौं। तर मैले त्‍यसलाई जितेर मारें भने तिमीहरू हाम्रा कमारा बन्‍नेछौ। यहाँ अहिले म इस्राएली सेनालाई चुनौती दिन्छु। हिम्‍मत छ भने मसित लड्‍न कसैलाई छान।” यो सुनेर शाऊल र तिनका मानिसहरू डराए।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:1-11 पवित्र बाइबल (NERV)

पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो। शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए। पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो। पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो। शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो। गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको। भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिँड्थ्यो। प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिन्थ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ। यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।” पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लड्न सकुँ।” शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्