अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले। शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्क्ति बाँधेर तैनाथ भए। बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए। पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो। त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल ओजन भएको काँसोको झिलम लगाएको थियो; त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो। त्यसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो। तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ। यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।” तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।” त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए।
1 शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 17:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू