१ पत्रुस 5:1-10
१ पत्रुस 5:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु। तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर। र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ। सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।
१ पत्रुस 5:1-10 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्येका मण्डलीका प्रधानलाई, म पनि एक प्रधानको रूपमा, जो ख्रीष्टको दुःखको साक्षी र जो प्रकट हुन लागेको महिमामा सहभागी हुनेछ, तिमीहरूलाई अनुरोध गर्दछु: तिमीहरूको हेरचाहमा भएका परमेश्वरका भेडाहरूको रखवालाको रूपमा गोठालो होओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैं तिमीहरूको इच्छाले; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर! अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ। हे जवानहरूहो, यसरी नै उमेरमा मण्डलीका प्रधानहरूको अधीनतामा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर, किनकि, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सबै चिन्ता उहाँमाथि राख, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैं यताउति घुमिहिँड्छ। विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर, किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्। सबै अनुग्रहका परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ, तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि, उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।
१ पत्रुस 5:1-10 पवित्र बाइबल (NERV)
अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन। हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ। “परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ, तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।” यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ। जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ। स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ। शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ। यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।
१ पत्रुस 5:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म तिमीहरूकहाँ भएका मण्डलीका धर्म-गुरुहरूलाई भन्दछु। म पनि मण्डलीकै गुरु हुँ अनि ख्रीष्टले भोग्नुभएको दु:ख आफैंले देखेको छु र पछि प्रकट हुने सम्मान्को पनि साझेदार हुनेछु। त्यसैले भन्दछु, तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्वरले चाहनुभएजस्तो परमेश्वरले तिमीहरूको जिम्मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर। तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन। मूल गोठालो आउनुहुँदा सधैँभरि चम्किरहने चहकिलो मुकुट पाउनेछौ। तन्नेरी मानिसहरूले पनि आफूभन्दा ठूलाहरूका अधीनमा रहने गर। तिमीहरू नम्र भएर बस अनि एक-अर्काको सेवा गर। धर्मशास्त्रले भन्छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूमाथि अनुग्रह राख्नुहुन्छ।” त्यसो हुँदा परमेश्वरका शक्तिशाली हातमुनि रहेर नम्र होओ र उहाँले तिमीहरूलाई ठीक समयमा ठूलो बनाउनुहुनेछ। आफ्ना सबै फिक्री उहाँका अघि राखिदेओ किनभने उहाँले नै तिमीहरूको हेर-विचार गर्नुहुन्छ। होश राख अनि चनाखो बन। तिमीहरूको शत्रु शैतान गर्जने सिंहजस्तै कसैलाई फेला पारूँ र खाऊँ भनेर दाउमा घुमिरहेको छ। विश्वासमा दह्रो भएर शैतानको विरोध गर किनभने तिमीहरूजस्तै चारैतिर अरू विश्वासीहरूले पनि दु:ख भोगेका छन् भन्ने तिमीहरूलाई थाहै छ। अलिबेर दु:ख उठाएपछि सबै अनुग्रहले पूर्ण परमेश्वरले ख्रीष्ट येशूमा तिमीहरूलाई अनन्त महिमा बाँड्न बोलाउनुहुन्छ र उहाँले नै तिमीहरूलाई सिद्ध पार्नुहुन्छ र शक्ति दिएर दरिलो बनाई पक्का जगमा राख्नुहुनेछ।