१ पत्रुस 5
5
एल्डरहरू र जवानहरूलाई
1ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु। 2तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ,#यूह २१:१५-१७ 3तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर। 4र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ।
5त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, #हितो ३:३४
“परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
6यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।#मत्ती २३:१२; लूक १४:११; १८:१४ 7तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
8सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। 9विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।
10सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। 11उहाँलाई नै पराक्रम र शक्ति सदासर्वदा भइरहोस्। आमेन।
अन्तिम अभिवादन
12विश्वासयोग्य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ। #प्रे १५:२२,४०
13बेबिलोनमा भएकी तिमीहरूजस्तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। #प्रे १२:१२,२५; १३:१३; १५:३७-३९; कल ४:१०; फिले २४ 14एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर।
ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति।
अहिले सेलेक्ट गरिएको:
१ पत्रुस 5: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012