१ राजाहरू 15:9-15
१ राजाहरू 15:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए, र तिनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। तिनकी हजूरआमा अबीशालोमकी छोरी माका थिइन्। आसाले आफ्ना पुर्खा दाऊदले गरेझैँ जे कुरा परमप्रभुको दृष्टिमा असल थियो त्यही गरे। तिनले देवता-थानमा बस्ने पुरुष वेश्याहरूलाई देशबाट निकालिदिए, र तिनले आफ्ना पिता-पुर्खाहरूले बनाएका सबै मूर्तिहरूलाई हटाइदिए। तिनले आफ्नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र किद्रोन खोल्सामा त्यो जलाइदिए। तिनले डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो सारा जीवनभरि नै परमप्रभुमा सम्पूर्ण रूपले सुम्पेका थिए। तिनले परमप्रभुको मन्दिरमा आफू र आफ्ना पिताले समर्पण गरेका सुन र चाँदी र सामानहरू ल्याए।
१ राजाहरू 15:9-15 पवित्र बाइबल (NERV)
इस्राएलमा यारोबाम राजा भएको बिसौं बर्षमा आसा यहूदाका राजा भए। आसाले यरूशलेममा 41 बर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्। आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे। त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए। आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए। उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे। आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरू चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।
१ राजाहरू 15:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलका राजा यारोबामको शासनकालको बीसौँ वर्षमा आसा यहूदाका राजा भए र उनले एकचालीस वर्ष यरूशलेममा राज्य गरे। अबीशालोमकी छोरी माका उनकी बज्यै थिइन्। आफ्ना पुर्खा दाऊदले झैँ आसाले परमप्रभुको दृष्टिमा मन पर्ने काम गरे। उनले आफ्ना देशबाट मूर्तिपूजा गर्ने पूजा-स्थलहरूमा वेश्यावृति गर्ने पुरुष र स्त्रीहरूलाई धपाए र आफ्ना पुर्खाहरूले बनाएका सबै मूर्तिहरू हटाए। उनले आफ्नी बज्यै माकालाई राजमाताको स्थानबाट हटाइदिए किनभने तिनले सन्तान दिने देवी अशेराको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो मूर्ति काटेर ढालिदिए र किद्रोनको भञ्ज्याङमा जलाई भस्म पारिदिए। आसाले मूर्तिपूजा गर्ने पूजा-स्थलहरू सम्पूर्ण नाश नगरे पनि आफ्ना जीवनकालभरि उनी परमप्रभुप्रति विश्वासयोग्य रहे। आफ्ना बुबाले परमेश्वरलाई अर्पण गरेका सम्पूर्ण वस्तुहरू र आफैंले अर्पण गरेका सुन, चाँदी र अरू चीजबीज उनले मन्दिरमा ल्याए।