१ कोरिन्थी 3:7-11
१ कोरिन्थी 3:7-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ। किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ। मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
१ कोरिन्थी 3:7-11 नेपाली समकालीन संस्करण (NCV)
यसकारण न रोप्ने केही हो, न ता पानी हाल्ने केही हो, तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौं; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ। परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु मिस्त्रीलेझैं एउटा जग बसालेको छु, र अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउनुपर्छ। तर बसालिएको जगबाहेक अर्को कुनै जग कसैले बसाल्न सक्दैन, स्वयम् येशू ख्रीष्ट बसालिएको जग त्यो जग हुनुहुन्छ।
१ कोरिन्थी 3:7-11 पवित्र बाइबल (NERV)
यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं। अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो। परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ।
१ कोरिन्थी 3:7-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बिरुवा लाउने र पानी हाल्ने ठूलो होइन, तर बढाउने पो ठूलो हो। रोप्ने र पानी हाल्नेमा केही फरक छैन। परमेश्वरले सबैलाई आ-आफ्नो मेहनतअनुसार इनाम दिनुहुनेछ। हामीचाहिँ सबै काम गर्ने परमेश्वरका खेताला हौं अनि परमेश्वरको खेत तिमीहरू नै हौ। तिमीहरू परमेश्वरले बनाउनुहुने घर हौ। परमेश्वरको अनुग्रहले गर्दा मैले सिपालु मूल कर्मीले झैँ जग हाल्न पाएँ, अनि अरूले चाहिँ यसमाथि घर बनाउँदछन्। घर बनाउने हरेकले कसरी बनाउनुपर्ने हो, राम्ररी होश राख्नुपर्छ किनभने परमेश्वरले हाल्नुभएको एउटै जग येशू ख्रीष्ट नै हुनुहुन्छ। कसैले अरू कुनै जग हाल्न सक्तैन।