YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 15:12-19

१ कोरिन्थी 15:12-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मृतकहरूबाट ख्रीष्‍ट पुनरुत्‍थान हुनुभयो भनी प्रचार गरिन्‍छ भने कसरी तिमीहरूमध्‍ये कसै-कसैले मृतकको पुनरुत्‍थान हुँदैन भनी भन्‍न सक्‍छौ? तर यदि मृतकहरूको पुनरुत्‍थान हुँदैन भनेता ख्रीष्‍ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन। यदि ख्रीष्‍ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्‍यर्थ हुन्‍छ, र तिमीहरूको विश्‍वास पनि व्‍यर्थ हुन्‍छ। त्‍यसभन्‍दा बढ़ी हामी परमेश्‍वरको बारे झूटा साक्षीहरू ठहरिन्‍छौं, किनकि उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्‍वरको बारे गवाही दिएका छौं। तर साँच्‍चै मृतकहरूको पुनरुत्‍थान हुँदैन भने उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएन। किनकि यदि मृतकहरूको पुनरुत्‍थान नहुने भए ता ख्रीष्‍ट पनि मृतकबाट जीवित पारिनुभएन। ख्रीष्‍ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्‍वास व्‍यर्थ छ, र तिमीहरू अझसम्‍म आफ्‍ना पापमा नै छौ। तब त ख्रीष्‍टमा सुतिगएकाहरू पनि नष्‍ट भएका छन्‌। यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्‍दा बढ़ी दयनीय हुन्‍छौं।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्

१ कोरिन्थी 15:12-19 नेपाली समकालीन संस्करण (NCV)

तर यदि मरेकाहरूबाट ख्रीष्‍ट पुनर्जीवित हुनुभयो भन्‍ने प्रचार भएको छ भने, तिमीहरू कतिले कसरी मरेकाहरू पुनर्जीवित हुँदैनन् भन्छौ? यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको होइन। अनि यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको होइन भने ता, हाम्रो प्रचार र तिमीहरूको विश्‍वास पनि व्यर्थ हो। त्योभन्दा बढी हामी परमेश्‍वरका झूटा साक्षीहरू ठहरिनेछौं, किनकि हामीले परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्‍ने गवाही दिएका छौं। तर यदि उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्। किनकि यदि मरेकाहरू पुनर्जीवित हुँदैनन् भने ता ख्रीष्‍ट पनि पुनर्जीवित हुनुभएको छैन। अनि यदि ख्रीष्‍ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ। त्यसो भए ख्रीष्‍टमा विश्‍वास गरेपछि मरेकाहरू पनि नष्‍ट भए। यदि ख्रीष्‍टमा भएको आशा यस जीवनको लागि मात्र हो भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय छौं।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्

१ कोरिन्थी 15:12-19 पवित्र बाइबल (NERV)

ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन। यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्

१ कोरिन्थी 15:12-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामी एकातिर ख्रीष्‍ट मरेकोबाट बिउँतनुभयो भनेर प्रचार गर्छौं, अर्कोतिरचाहिँ मरेकाहरू बिउँतदैनन् भनी तिमीहरूका माझमा कति जना हिंड्छन्। यो कसरी हुन सक्‍छ? मरेकाहरू नबिउँतने भए ख्रीष्‍ट पनि बिउँतनुभएन। ख्रीष्‍ट नबिउँतनुभएको भए हामीले गरेको प्रचार र तिमीहरूको विश्‍वास पनि व्‍यर्थ हो। योभन्दा बढी हामी परमेश्‍वरको बारेमा झूटो बोल्‍ने ठहरिन्‍छौं किनभने परमेश्‍वरले ख्रीष्‍टलाई बिउँताउनुभयो भनेर हामीले नै साक्षी दिएका छौं। तर मरेकाहरू नबिउँतने भए परमेश्‍वरले उहाँलाई बिउँताउनुहुने थिएन। मरेकाहरू बिउँतदैनन् भने परमेश्‍वरले ख्रीष्‍टलाई पनि बिउँताउनुभएन। ख्रीष्‍ट बिउँताइनुभएको होइन भने तिमीहरूको विश्‍वास पनि झूटो हो र तिमीहरू अझै आफ्‍नै पापमा छौ। त्‍यसो हो भने ख्रीष्‍टमा विश्‍वास गरेर मर्नेहरू पनि सबै नष्‍ट भए। ख्रीष्‍टमा हाम्रो आशा यस जीवनमा मात्र छ र यस जीवनपछि छैन भने हामी सबै मानिसहरूभन्दा दयालाग्‍दाहरू हौं।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्