१ कोरिन्थी 13:4-13
१ कोरिन्थी 13:4-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ। हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ। तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ। जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ। अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
१ कोरिन्थी 13:4-13 नेपाली समकालीन संस्करण (NCV)
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले शेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन। प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन। प्रेम दुष्टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ। प्रेमले सधैं रक्षा गर्छ, सधैं भरोसा गर्छ, सधैं आशा राख्छ र सधैं स्थिर रहन्छ। प्रेमको अन्त कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ किनकि हाम्रो ज्ञान आंशिक र अधूरो छ, अनि हाम्रो अगमवाणी अधूरो हुन्छ। तर जब पूर्णता आउँछ, आंशिक कुराहरू हटाइनेछन्। जब म बालक थिएँ, म बालकले जस्तो बोल्थें, म बालकले जस्तो सोच्थें, र बालकले जस्तै तर्क गर्थें। तर जब म जवान भएँ, मैले बालकका जस्ता व्यवहार छोडिदिएँ। अहिले त हामीले ऐनामा धमिलोसँग देख्छौं, तर त्यस बेला त आमनेसामने देख्नेछौं। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला त पूर्ण रूपले जान्नेछु, जसरी अहिले मलाई परमेश्वरले पूर्ण रूपले जान्नुहुन्छ। अनि अब यी तीन कुराहरू रहन्छन्: विश्वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।
१ कोरिन्थी 13:4-13 पवित्र बाइबल (NERV)
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ। प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ। हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्। यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।
१ कोरिन्थी 13:4-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रेममा शान्ति हुन्छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्ड गर्दैन अनि आफूलाई ठूलो सम्झिदैन। प्रेम खराब चालमा चल्दैन, आफ्नो उन्नति खोज्दैन, झर्कंदैन, नराम्रा कुराको ख्यालै गर्दैन। प्रेम अन्यायमा खुसी हुँदैन, तर सत्यमा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास राख्तछ, सबै कुरामा राम्रो आशा राख्तछ अनि सबै कुरा खप्छ। प्रेमले कहिले हार खाँदैन। अगमवाणीहरू टुङ्गिनेछन्, भाषाका वरदानहरू बन्द हुनेछन् अनि ज्ञानको वचन पनि अन्त हुनेछ। हाम्रो ज्ञान अपूरो छ, परमेश्वरको तर्फबाट बोल्ने हाम्रो वरदान अपूरो छ। तर जब पूराचाहिँ आउँछ, अपूरो हराएर जान्छ। म बालक हुँदा बालकले जस्तै बोल्थें, बालकले जस्तै बुझ्थें र बालकले जस्तै सोच्थें। अहिले म पाको भएको छु र बालकको कुरासँग वास्ता राख्तिनँ। अहिले हामी धमिलो ऐनामा देखेजस्तै मात्र देख्तछौं, छर्लङ्गै देख्तैनौं, तर त्यस बेलाचाहिँ आमने-सामने नै देख्नेछौं। अहिले म पूरा जान्दिनँ, तर त्यस बेलाचाहिँ परमेश्वरले मेरो बारेमा सबै कुरा पूरै जान्नुभएझैँ म पनि जान्नेछु। तर यी तीन कुराचाहिँ सधैँ रहनेछन्– विश्वास, आशा र प्रेम। तिनीहरूमा सबैभन्दा ठूलो प्रेम नै हो।