YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:4-14

१ कोरिन्थी 12:4-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

वरदानहरू विभिन्‍न किसिमका छन्, तर पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ। सेवाहरू धेरै थरीका हुन्‍छन्, तर प्रभु एउटै हुनुहुन्‍छ। कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्‍वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्‍छ। सबैका हितको लागि नै पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई दिइएको छ। कसैलाई पवित्र आत्‍माद्वारा बुद्धिका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माअनुसार ज्ञानका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माद्वारा विश्‍वास गर्ने, कसैलाई उनै एक पवित्र आत्‍माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्, कसैलाई आश्‍चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्‍ने, कसैलाई आत्‍माहरू छुट्ट्याउन सक्‍ने, कसैलाई भिन्‍न-भिन्‍न किसिमका भाषाहरू बोल्‍ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने। तर यी सबै उनै एक पवित्र आत्‍माका कामहरू हुन्‌। उहाँले हरेकलाई उहाँको इच्‍छाअनुसार वरदान दिनुहुन्‍छ। किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ। किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो। किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्‍छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:4-14 नेपाली समकालीन संस्करण (NCV)

वरदानहरू विभिन्‍न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। सेवाहरू विभिन्‍न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू पनि विभिन्‍न किसिमका छन्, तर उही परमेश्‍वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ। सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ। परमेश्‍वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा विश्‍वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू, अर्कोलाई आश्‍चर्यका कामहरू गर्ने शक्‍ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्‍न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने। यी सबै एउटै र उही आत्माका कामहरू हुन्, अनि यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ। जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै छन्, तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्‍टको शरीरसँग पनि यस्तै हुन्छ। यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्‍का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्‍तिस्मा भयो, र हामी सबैजनालाई एउटै आत्मा पिउन दिइयो। किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:4-14 पवित्र बाइबल (NERV)

आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ। सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो। अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ। प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ। आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ। त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ। एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ। मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं। मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:4-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पवित्र आत्‍माका वरदानहरू धेरै किसिमका छन् तर वरदान दिने पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ। धेरै किसिमले सेवा चाहिँन्‍छ तर मालिकचाहिँ एउटै हुनुहुन्‍छ। धेरै किसिमका ईश्‍वरीय योग्‍यताहरू छन् तर हरेकलाई यी सब दिने परमेश्‍वरचाहिँ एउटै हुनुहुन्‍छ। सबैको भलाइ होस् भनेर हरेक मानिसलाई पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई वरदानहरू दिइएको छ। कसैलाई पवित्र आत्‍माले नै बुद्धिको वचन दिने वरदान दिनुहुन्‍छ र उही आत्‍माले कसैलाई ज्ञानको वचन दिने वरदान दिनुहुन्‍छ। उही पवित्र आत्‍माले कसैलाई विशेष विश्‍वास दिनुहुन्‍छ र कसैलाई बिरामी निको पार्ने वरदानहरू दिनुहुन्‍छ। कसैलाई चाहिँ अचम्‍म-अचम्‍मका काम गर्ने शक्ति दिनुहुन्‍छ। कसैलाई अगमवाणी बोल्‍ने (अर्थात् बुझ्‍ने भाषामा परमेश्‍वरको तर्फबाट बोल्‍ने) वरदान, कसैलाई आत्‍माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्‍न किसिमका अन्‍य भाषाहरूमा बोल्‍ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्‍ने वरदान पवित्र आत्‍माले नै दिनुहुन्‍छ। यी सबै उही एउटै पवित्र आत्‍माका काम हुन्। पवित्र आत्‍माले आफ्‍नै इच्‍छाअनुसार सबैलाई यी बेग्‍ला-बेग्‍लै वरदानहरू दिनुहुन्‍छ। हाम्रो एउटा जिउमा धेरै अङ्ग छन्– यी बेग्‍ला-बेग्‍लै अङ्ग मिलेर एउटै जिउ बन्‍छ। ख्रीष्‍ट पनि यस्‍तै हुनुहुन्‍छ। हामी यहूदी भए पनि, ग्रीक भए पनि, कमारा भए पनि, स्‍वतन्‍त्र भए पनि हामीले एउटै पवित्र आत्‍माद्वारा बप्‍तिस्‍मा पाएकोले एउटै शरीर भएका छौं अनि हामी सबैले एउटै आत्‍माबाट पिएका छौं। किनभने मानिसको शरीर एउटै अङ्गले बनिएको होइन, तर धेरै अङ्ग मिलेर बनेको छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्