YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:12-27

१ कोरिन्थी 12:12-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ। किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो। किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्‍छ। यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्‍यो भने, के त्‍यो शरीरको अङ्ग हुँदैन र? र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्‍यो भने, त्‍यो शरीरको अङ्ग हुँदैन र? यदि जम्‍मै शरीर आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि जम्‍मै शरीर कान हुँदो हो त सुँघ्‍‌ने कहाँबाट? तर परमेश्‍वरले आफ्‍नो इच्‍छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। यदि ती जम्‍मै एउटै अङ्ग हुँदा हुन्‌ त शरीर कहाँ हुने? तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै। आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्‍छन्‌। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्‍छौं, तिनलाई हामी बढ्‌ता आदर दिन्‍छौं। प्रत्‍यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्‍छौं, प्रत्‍यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्‍यस्‍तो हिफाजत चाहिँदैन। तर परमेश्‍वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ, ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्‍ति समान वास्‍ता राखून्‌। यदि एउटा अङ्गलाई कष्‍ट भयो भने सबै अङ्गहरूले सँगै कष्‍ट भोग्‍छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्‍द मनाउँछन्‌। तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:12-27 नेपाली समकालीन संस्करण (NCV)

जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै छन्, तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्‍टको शरीरसँग पनि यस्तै हुन्छ। यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्‍का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्‍तिस्मा भयो, र हामी सबैजनालाई एउटै आत्मा पिउन दिइयो। किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ। अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र? अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको होइनँ,” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र? यदि पूरा शरीर आँखा हुँदो हो ता, कहाँबाट सुन्‍ने? यदि पूरा शरीर कान हुँदो हो ता, कहाँबाट सुँघ्ने? तर वास्तवमा परमेश्‍वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् ता, शरीर कहाँ हुनेथियो? यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ। आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन। र शिरले खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन। बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झनै बढी आवश्यक हुन्छन्, अनि हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौं; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौं। हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्‍वरले शरीरका अङ्गहरूलाई यसरी सँगै मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाओस्, ताकि विभाजन नभई, शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता राखून्। एउटा अङ्गमा पीडा भयो भने, सबै अङ्गहरूले पनि त्यसको साथ पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने, सबै अङ्गहरू त्योसँग रमाउँछन्। तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:12-27 पवित्र बाइबल (NERV)

मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं। मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो? यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ। आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन। होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्। तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:12-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हाम्रो एउटा जिउमा धेरै अङ्ग छन्– यी बेग्‍ला-बेग्‍लै अङ्ग मिलेर एउटै जिउ बन्‍छ। ख्रीष्‍ट पनि यस्‍तै हुनुहुन्‍छ। हामी यहूदी भए पनि, ग्रीक भए पनि, कमारा भए पनि, स्‍वतन्‍त्र भए पनि हामीले एउटै पवित्र आत्‍माद्वारा बप्‍तिस्‍मा पाएकोले एउटै शरीर भएका छौं अनि हामी सबैले एउटै आत्‍माबाट पिएका छौं। किनभने मानिसको शरीर एउटै अङ्गले बनिएको होइन, तर धेरै अङ्ग मिलेर बनेको छ। खुट्टाले म हात होइनँ। त्‍यसैकारण म शरीरको होइनँ भन्‍दैमा के खुट्टा शरीरको नहुने हो र? कानले म आँखा होइनँ। त्‍यसैकारण म शरीरको होइनँ भन्‍दैमा ऊ शरीरको नहुने हो र? पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्‍ने? र कान मात्रै भयो भने केले सुँघ्‍ने? शरीरमा भएका अङ्गहरू परमेश्‍वरले आफ्‍नै इच्‍छाले शरीरमा राखिदिनुभएको हो। एउटै अङ्गले पूरै शरीर ढाक्‍यो भने शरीर हुने नै थिएन। अङ्गहरू धेरै छन्, तर शरीरचाहिँ एउटै छ। आँखाले हातलाई ‘मलाई तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन। त्‍यसरी नै टाउकोले खुट्टालाई पनि ‘तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन। अझ उल्‍टा शरीरका सबैभन्दा कमजोर अङ्गहरू नै हामी बढी जतन गर्छौं अनि नराम्रो अङ्गलाई नै स्‍याहार्छौं। जुन अङ्गहरूलाई हामी निच ठान्‍छौं, त्‍यसैको धेरै याद गर्दछौं, जब ती शरीरका अङ्गहरू, जुनचाहिँ धेरै राम्रा देखिंदैनन्, त्‍यसैलाई राम्ररी छोप्‍छौं। अरू राम्रा अङ्गहरूको पो हामी वास्‍ता गर्दैनौं। तर कमजोर अङ्गलाई बढी आदर दिनुपर्ने गरी परमेश्‍वरले नै यस शरीरका अङ्गहरू मिलाएर राख्‍नुभएको छ र शरीरमा फाटो नपरोस् तर शरीरका अङ्गहरूले एक-अर्काको वास्‍ता गरून्। कुनै अङ्गले दु:ख पाउँदा सबै शरीरले नै दु:ख भोग्‍छ। एउटा शरीरको अङ्गले प्रशंसा पाउँदा पूरै शरीरले नै प्रशंसा पाउँछ। त्‍यसैगरी तिमीहरू सबै खीष्‍टका शरीर हौ। हरेक त्यसका अङ्गहरू हौ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्