सपन्याह 3
3
यरूशलेम
1धिक्कार छ, त्यस अत्याचारी सहरलाई,
जो विद्रोही र अशुद्ध छे!
2त्यसले कसैको कुरा पनि मानिन;
त्यसले अनुशासनलाई स्वीकार गर्दिन।
त्यसले याहवेहमाथि भरोसा राख्दिन;
अनि त्यो आफ्नो परमेश्वरको नजिकमा आउँदिन।
3त्यसका अधिकारीहरू
भोकाएका गर्जने सिंहहरूजस्ता छन्;
अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्,
जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्।
4त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्;
तिनीहरू विश्वासघाती मानिसहरू हुन्।
त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्,
र परमेश्वरको नियमलाई तोड्दछन्।
5त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ;
उहाँले कहिल्यै खराबी गर्नुहुन्न।
बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ;
अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्न,
तर पनि अधर्मीले लज्जित हुन जान्दैन।
पश्चात्ताप नगरी रहने यरूशलेम
6“मैले राष्ट्रहरूलाई नाश गरेको छु;
तिनीहरूका बलिया किल्लाहरू ध्वस्त भएका छन्।
त्यस सहरबाट भएर कोही हिँड्दैन;
मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु;
तिनीहरूका सहरहरू बिरानो भएका छन्;
ती उजाड र खाली भएका छन्।
7मैले यरूशलेम सहरको बारेमा भनेँ,
‘निश्चय नै तैँले मेरो भय मान्नेछस्,
र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’
तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन,
न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्।
तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा
झन् भ्रष्टतापूर्वक उत्सुक थिए।”
8याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु,
यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो।
राष्ट्रहरूलाई एकसाथ भेला गर्न,
र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न;
अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु—
मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु।
समस्त पृथ्वी मेरो डाहको
आगोले भस्म हुनेछ।
इस्राएलको अवशेषको पुनर्स्थापना
9“त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु,
ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्,
र एउटै मनले उहाँको सेवा गरून्।
10कूश देशका नदीहरूभन्दा पारिबाट
मेरा छरपस्ट भएका मेरा आराधकहरूले
मेरा निम्ति भेटी ल्याउनेछन्।
11त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका
सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन;
किनकि म तिमीहरूको बीचबाट
धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु।
तिमीहरू फेरि कहिल्यै
मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ।
12तर म तेरो बीचमा
नम्र र दीनहरूलाई छोड्नेछु।
इस्राएलका बाँकी रहेकाहरूले
याहवेहको नाममा भरोसा गर्नेछन्।
13इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्;
तिनीहरूले कुनै झूटो बोल्नेछैनन्।
तिनीहरूका मुखमा
कुनै पनि छलका कुरा पाइनेछैन।
तिनीहरू खानेछन्, सुत्नेछन्
र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।”
14हे सियोनकी छोरी, गीत गा;
हे इस्राएल, उच्च सोरमा करा!
हे यरूशलेमकी छोरी,
आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्!
15याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ;
तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ।
याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ;
अब फेरि तैँले कुनै खराबीको डर मान्नुपर्दैन।
16त्यस दिन
तिनीहरूले यरूशलेमलाई भन्नेछन्,
“हे सियोन, नडरा;
तेरा हातहरू लुला हुन नपाऊन्।
17याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।”
18“जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्,
जो तेरा निम्ति बोझ र बदनामी भएका छन्,
म तँबाट हटाइदिनेछु।
19त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित
म बदला लिनेछु।
म लङ्गडाहरूलाई उद्धार गर्नेछु;
अनि निर्वासितहरूलाई जम्मा गर्नेछु।
तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए,
म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु।
20त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु;
म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु।
जब म तिमीहरूका सुदिन
तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु,
तब म तिमीहरूलाई पृथ्वीका
समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,”
याहवेह भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
सपन्याह 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.