YouVersion लोगो
खोज आइकन

तीतस 3:1-11

तीतस 3:1-11 NCV

शासकहरू तथा अख्तियारवालाहरूको अधीनतामा बस्‍नू, आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैं सबै मानिसहरूप्रति नम्रता देखाऊन्। कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, अनि सबै किसिमका अभिलाषा र सुख विलासद्वारा ठगिएका र सेवक बनाइएकाहरू थियौं। हामी द्वेष र डाहामा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौं। तर जब हाम्रा मुक्‍तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो, उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो। हामीले गरेका धार्मिक कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनर्जीवनको स्‍नान अनि पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, जुन आत्मालाई उहाँले हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौं भन्‍ने आशा दिनुभयो। यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, कि जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्। तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महान्‌ताको बारेमा कुरा गर्नमा, व्यवस्थाबारे तर्कवितर्क र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। विभाजन ल्याउने व्‍यक्‍तिहरूलाई दोस्रो पटकसम्म चेतावनी देऊ, त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। तिमीलाई यो थाहै छ, कि यस्ता मानिसहरू पापमा लागेका हुन्छन्, र तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराइएका हुन्छन्।

तीतस 3 पढ्नुहोस्