हामी विश्वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्न तुल्याउने हुनुहुन्न। हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ। किनकि ख्रीष्ट आफैँले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ। धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्, ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक। जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्। गैरयहूदीहरूले परमेश्वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।” फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।” अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।” अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।” उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
रोमी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 15:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू