YouVersion लोगो
खोज आइकन

प्रकाश 16:1-17

प्रकाश 16:1-17 NCV

तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनेँ, “जाओ, र परमेश्‍वरको क्रोधका सात कचौराहरू पृथ्वीमाथि खन्याइदेओ।” तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्‍टदायक घाउखटिरा निस्क्यो। जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो। अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले। अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनेँ: तपाईं जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, पवित्र परमेश्‍वर हुनुहुन्छ, “तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ; किनकि तिनीहरूले तपाईंका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएका छन्; अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।” अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ: “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।” जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो। तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरलाई सरापे; तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे। जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्‍टमा आ-आफ्ना जिब्राहरू टोके, अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्‍वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्‍चात्ताप गरेनन्। जब छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो। तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्‍ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ। तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्‍ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्‍वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्। “हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।” तब ती दुष्‍ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्‍ने ठाउँमा भेला गराए। जब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्‍ने चर्को आवाज आयो, “अब सिद्धियो!”

प्रकाश 16 पढ्नुहोस्