भजनसंग्रह 88
88
भजन 88
एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति—महलत लिन्नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल।#88:0 शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।
1हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ;
दिनरात म तपाईंलाई पुकार्दछु।
2मेरो प्रार्थना तपाईंको सामु पुगोस्;
मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!
3किनकि मेरो प्राण पीडाले भरिएको छ
र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
4चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ;
म शक्तिविहीन मानिसझैँ भएको छु।
5म मरेकाहरूसितै छुट्ट्याइएको छु,
मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्,
जसलाई तपाईं कहिल्यै सम्झनुहुन्न;
जो तपाईंको वास्ताबाट त्यागिएका छन्।
6तपाईंले मलाई चिहानको तल्लो भागमा,
अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।
7तपाईंको क्रोधले मलाई दबाएर राखेको छ;
तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला
8मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ;
तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ।
म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;
9शोकले मेरा आँखाहरू धमिला हुन्छन्।
हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु;
म मेरा हात तपाईंतिर पसार्दछु।
10के मृतकहरूलाई तपाईं आफ्ना अद्भुत कार्यहरू देखाउनुहुन्छ?
के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला
11के तपाईंको अचुक प्रेम चिहानमा,
तपाईंको विश्वसताको मृत-लोकमा#88:11 मूल भाषामा अबाडोन घोषणा गरिन्छ?
12के तपाईंको अद्भुत कार्यहरू अन्धकारको स्थानमा,
अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?
13हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु;
बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।
14हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ?
अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?
15मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु;
तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।
16तपाईंको क्रोध ममाथि खनिएको छ;
तपाईंका त्रासहरूले मलाई नष्ट पारेका छन्।
17तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्;
तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।
18तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ—
अन्धकार मेरो नजिकको मित्र बनेको छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 88: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.