YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:40-53

भजनसंग्रह 78:40-53 NCV

तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए! तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्‍वरलाई उक्साए। तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो, जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो। उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो; तिनीहरूले खोलाहरूका पानीबाट पिउन सकेनन्। उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो, र तिनीहरूलाई उजाड पार्नलाई भ्यागुताहरू पठाउनुभयो। उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई, र तिनीहरूका खेतका उब्जनी सलहलाई दिनुभयो। उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले र अञ्जीरका बोटहरू तुसारोले नष्‍ट पारिदिनुभयो। उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले, र भेडाबाख्राहरूलाई चट्याङले प्रहार गर्नुभयो। उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो। उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो; उहाँले तिनीहरूका प्राणलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो। उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई, हामका पालहरूमा पुरुषत्वको रूपमा रहेका पहिलो फललाई मास्‍नुभयो। तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो; उहाँले तिनीहरूलाई मरुभूमिमा भेडालाई जस्तै अगुवाइ गर्नुभयो। उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।

भजनसंग्रह 78 पढ्नुहोस्