हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन;
मेरा मुखका वचनहरूतिर ध्यान लगाओ।
म मेरो मुख दृष्टान्तमा बोल्नलाई खोल्नेछु;
म प्राचीनका कुराहरूबाट गुप्त कुराहरू भन्नेछु—
हामीले ती कुराहरू सुनेका र जानेका छौँ,
जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।
हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ;
हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू,
उहाँको शक्ति र उहाँले गर्नुभएका
अद्भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।
उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो,
र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो;
यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर
उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो;
ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्,
यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्,
र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्।
तब तिनीहरूले परमेश्वरमा आफ्ना भरोसा राख्नेछन्,
र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्;
तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्।
तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै
अटेरी र विद्रोही पुस्ता हुनेछैनन्;
तिनीहरूका हृदय परमेश्वरप्रति वफादार थिएनन्,
तिनीहरूका आत्मा परमेश्वरप्रति विश्वासयोग्य थिएनन्।
एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि
लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे;
तिनीहरूले परमेश्वरका करार पालन गरेनन्,
र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे।
परमेश्वरले गर्नुभएका कामहरू,
उहाँले तिनीहरूलाई देखाउनुभएको अद्भुत कार्यहरू, तिनीहरूले बिर्से।
उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि,
इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।
उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्याउनुभयो;
उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।
उहाँले तिनीहरूलाई दिनमा बादलले
र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो।
उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो,
र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो;
उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो,
र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो।
तर सर्वोच्च परमेश्वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर,
तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे।
तिनीहरूले असाध्यै खानेकुराको माग गरेर
जानी-जानी परमेश्वरको परीक्षा गरे।
तिनीहरूले यसो भन्दै परमेश्वरको निन्दा गरे:
“के परमेश्वरले हाम्रो निम्ति
मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र?
हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो,
र पानी फुटेर निस्क्यो,
पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो;
तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ?
के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”
जब याहवेहले तिनीहरूका कुरा सुन्नुभयो, उहाँ धेरै रिसाउनुभयो;
याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो,
र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो;
किनकि तिनीहरूले परमेश्वरमाथि विश्वास गरेनन्,
न त उहाँको छुटकारामा नै भरोसा राखे।
तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो,
र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;
उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो,
उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।
मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए;
परमेश्वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो;
र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो।
उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो;
उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो।
उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र,
तिनीहरूका पालको वरिपरि झार्नुभयो।
तिनीहरूले नघाउन्जेल खाए—
उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो।
तर तिनीहरूको भोक मेटिनु अगि नै,
तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै,
परमेश्वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो;
तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो,
इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो।
यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे;
र उहाँका अद्भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्वास गरेनन्।
यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा
र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।
जब परमेश्वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो;
तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्चात्ताप गर्दै उहाँतिर फर्के।
परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ
र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धारक
हुनुहुँदोरहेछ भन्ने कुरा तिनीहरूले सम्झे।
तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे,
र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले;
तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्,
न त उहाँका करारप्रति तिनीहरू विश्वासयोग्य नै थिए।
तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो;
उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो,
र तिनीहरूलाई नष्ट पार्नुभएन।
पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो
र आफ्नो पूरा क्रोध पोख्नुभएन।
उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो,
जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्।