YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:1-39

भजनसंग्रह 78:1-39 सरल नेपाली

हे मेरा मानिसहरू हो! मेरो शिक्षा सुन, मेरा कुरामा ध्‍यान देओ। म बुद्धिका कुराहरू भनेर बितेका रहस्‍यहरूका भेद खोलिदिनेछु। हामीले सुनेका र जानेका कुराहरू हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु। ती कुराहरू हामी आफ्‍ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं, आउँदा पिँढीलाई ती कुरा भन्‍नेछौं। परमप्रभुका शक्ति र महान् कार्यहरू, उहाँका उदेकका कामबारे भन्‍नेछौं। उहाँले इस्राएलीहरूलाई व्‍यवस्‍था दिनुभयो र याकूबका सन्‍तानलाई व्‍यवस्‍था-विधि दिनुभयो। आफ्‍ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो। त्‍यसरी आउँदो पुस्‍ताले तिनका बारेमा सिक्‍न सकून् र आफ्‍ना सन्‍तानलाई पनि ती सिकाउन सकून्! यसरी तिनीहरूले परमेश्‍वरमाथि भरोसा राख्‍नेछन् र उहाँका कामहरू भुल्‍नेछैनन् र सधैँ उहाँका आज्ञाहरू मान्‍नेछन्। आफ्‍ना पिता-पुर्खाहरूजस्‍ता तिनीहरू विद्रोही र आज्ञा नमान्‍नेहरू बन्‍नेछैनन्। ती पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा कहिल्‍यै दरिलो थिएन, तिनीहरू उहाँप्रति विश्‍वासयोग्‍य रहेनन्। धनु-काँड लिएका एफ्राइमीहरू लडाइँका दिनमा भागे। तिनीहरूले परमेश्‍वरसँग बाँधेका आफ्‍ना करार राखेनन् र उहाँका नियमहरू पालन गर्न अस्‍वीकार गरे। उहाँले गर्नुभएको काम र आफूले देखेका उहाँका आश्‍चर्यकर्महरू तिनीहरूले भुले। तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै परमेश्‍वरले मिश्रदेशको सोअनको मैदानमा आश्‍चर्यकर्महरू गर्नुभयो। उहाँले समुद्र फटाउनुभयो र त्‍यसको बीच भएर तिनीहरूलाई डोर्‍याउनुभयो। पानीलाई पर्खालजस्‍तो भएर खडा रहन लगाउनुभयो। दिउँसो बादलले र राती आगोको उज्‍यालोले तिनीहरूलाई बाटो देखाउनुभयो। उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर त्‍यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो। उहाँले चट्टानदेखि एउटा खोला फुटाई निकाल्‍नुभयो र नदीझैँ पानी बहाउनुभयो। तर तिनीहरूले परमेश्‍वरका विरुद्धमा पाप गरिरहे र मरुभूमिमा सर्वोच्‍च परमेश्‍वरसँग विद्रोह गरे। आफूले भोजन मागेर तिनीहरूले जानी-जानी परमेश्‍वरको जाँच गरे। तिनीहरूले परमेश्‍वरका विरुद्धमा कुरा गर्दै यसो भने, “के परमेश्‍वरले मरुभूमिमा भोजन दिन सक्‍नुहुन्‍छ? यो कुरा साँचो हो कि उहाँले चट्टानलाई हिर्काउनुभयो र त्‍यहाँबाट पानीको मूल फुटेर निस्‍क्‍यो, तर के उहाँले हामीलाई रोटी र यी आफ्‍ना प्रजालाई मासु दिन सक्‍नुहोला र?” तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो; उहाँले आफ्‍ना प्रजालाई आगोद्वारा प्रहार गर्नुभयो र तिनीहरूका विरुद्धमा उहाँको रिस बढ्यो। किनभने उहाँमाथि तिनीहरूको विश्‍वास थिएन र उहाँले हामीलाई बचाउनुभयो भन्‍ने तिनीहरूलाई भरोसा थिएन। तर उहाँ बोल्‍नुभयो र आकाशलाई त्‍यसका ढोकाहरू खोल्‍ने आज्ञा दिनुभयो। खानलाई मन्‍न पठाइदिनुभएर उहाँले तिनीहरूलाई स्‍वर्गदेखि अन्‍न दिनुभयो। यसरी तिनीहरूले स्‍वर्गदूतका खाना खाए र परमेश्‍वरले तिनीहरूले मागेका सबै कुरा दिनुभयो। उहाँले पूर्वपट्टिको हावा पनि बहाउनुभयो र आफ्‍नो शक्तिले दक्षिणको बतास चलाउनुभयो। उहाँले आफ्‍ना प्रजालाई समुद्रको किनारमा भएको बालुवाको कणसरह चरा-चुरुङ्गीहरू पठाइदिनुभयो। ती चराहरू तम्‍बुका चारैपट्टि र माझमा खसे। मानिसहरूले ती खाए र अघाए, परमेश्‍वरले तिनीहरूलाई तिनीहरूले मागेका कुरा दिनुभयो। तर तिनीहरूको भोक अझ मेटिएको थिएन, तिनीहरूले अझै खाइरहेका थिए। तर परमेश्‍वर तिनीहरूसित रिसाउनुभयो र उहाँले तिनका सबैभन्दा बलिया मानिसहरूले मार्नुभयो: इस्राएलका सबैभन्दा उत्तम युवाहरू। ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्‍चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्। यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्‍त गराउनुभयो र तिनीहरूको जीवन प्रकोपमा परेर नष्‍ट भयो। उहाँले तिनीहरूमध्‍ये कतिलाई मार्नुभएपछि अरूहरू उहाँतिर फर्कन्‍थे, तिनीहरूले पश्‍चात्ताप गरेर भक्तिसित उहाँलाई प्रार्थना गर्थे। तिनीहरूले याद गर्थे, “परमेश्‍वर हाम्रा रक्षक हुनुहुन्‍छ र सर्वशक्तिमान् प्रभुले हाम्रो मद्दत गर्नुभयो।” तर तिनीहरूका शब्‍दहरू सबै झूटा थिए, तिनीहरूले भनेका कुनै कुरा सत्‍य थिएन। तिनीहरूको उहाँमाथि भक्ति थिएन, उहाँसँग गरेका करारप्रति तिनीहरू विश्‍वासयोग्‍य रहेनन्। तर परमेश्‍वरले आफ्‍ना प्रजालाई दयामाया गर्नुभयो, तिनीहरूका पाप उहाँले माफ गर्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन। धेरै चोटि उहाँले आफ्‍नो क्रोधलाई रोक्‍नुभयो र रिस थाम्‍नुभयो। तिनीहरू हावाजस्‍तो बहिजाने र मरिजाने मानिस मात्र हुन् भनी उहाँले याद गर्नुभयो।

भजनसंग्रह 78 पढ्नुहोस्