YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34

34
भजन 34#34 यस भजनका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छन्
अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन।
1हर समय म याहवेहलाई स्तुति गर्नेछु;
उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।
2याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ;
कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।
3मसँगसँगै याहवेहको महिमा गर;
हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।
4मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो,
उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।
5उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्;
तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।
6यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो;
उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।
7याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका
चारैतिर सुरक्षाको घेरा लगाउँछन्,
र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
8याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ!
धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।
9हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान;
किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।
10जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्;
तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।
11हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन।
म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।
12तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,
दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
13आफ्नो जिब्रोलाई खराब कुरादेखि
र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
14दुष्‍टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
15याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,
र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।
16तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ,
अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।
17धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
18याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्,
तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;
20याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ;
तिनमा एउटै हाड पनि भाँचिनेछैन।
21खराबीले दुष्‍टलाई मार्दछ;
धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।
22याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ;
उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 34: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्