YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:33-72

भजनसंग्रह 119:33-72 NCV

हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ। मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्‍याउनुहोस्; किनकि म त्यसैमा प्रसन्‍न हुन्छु। मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्; ताकि तपाईंको भय रहोस्! जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्! हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु! तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्! हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्, र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्! तब मलाई गिल्‍ला गर्नेहरूलाई म जवाफ दिन सकूँ; किनकि म तपाईंको वचनमा भरोसा राख्दछु। तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्; किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु। म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्‍डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु। म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु, र म लाजमा पर्नेछैनँ। किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु; किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु; ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ। तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ। मेरो कष्‍टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ। अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ। हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु। तपाईंको व्यवस्था त्याग्ने दुष्‍टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ। म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्। हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ। तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ। हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु। मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्‍नुहोस्! मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु। तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ। दुष्‍टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु। म तपाईंको भय मान्‍नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ। हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्‍वास गर्दछु। दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्‍न हुन्छु। दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ। तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्।

भजनसंग्रह 119 पढ्नुहोस्