भजनसंग्रह 109
109
भजन 109
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1मेरा परमेश्वर, जसको म प्रशंसा गर्छु,
तपाईं चुप लागेर नबस्नुहोस्;
2किनकि दुष्ट र छली मानिसहरूले
मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्;
तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।
3तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्;
कारणविना तिनीहरू मलाई हमला गर्छन्।
4मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्,
तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ।
5तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्,
र मेरो मित्रताको साटो घृणा गर्छन्।
6मेरो शत्रुका विरोध गर्न कुनै दुष्ट मानिसलाई खटाउनुहोस्;
त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्!
7त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्,
र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्!
8त्यसको आयु कम होस्;
त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्!
9त्यसका छोराछोरीहरू अनाथ होऊन्
र त्यसकी पत्नी विधवा होस्!
10त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्;
तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्।
11त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्;
त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्!
12त्यसमाथि कसैले पनि दया नगरोस्,
न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्!
13त्यसका सन्तानहरू मरेर जाऊन्;
र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्!
14याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्;
त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्!
15तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्,
ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्!
16किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन,
तर दुःखी, अभावग्रस्त
र हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो।
17त्यसले श्राप दिन मन पराउँथ्यो—
त्यसको श्राप त्यसमाथि नै आइपरोस्;
त्यसले आशिष् दिन रुचाएन—
त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्!
18त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो;
त्यो पानीझैँ त्यसको पेटभित्र
तेलझैँ त्यसका हाडहरूमा पसोस्!
19श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्,
र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्।
20मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्ट कुरा गर्नेहरूलाई
याहवेहबाट यस्तै प्रतिफल मिलोस्!
21तर हे प्रभु याहवेह,
तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्;
तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्!
22किनकि म गरिब र खाँचोमा छु,
र मभित्र मेरो हृदय घाइते भएको छ।
23म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु;
म सलहझैँ हुत्त्याइएर फालिएको छु।
24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्;
मेरो शरीर हाड र छाला मात्र भएको छ।
25मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु;
जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्लाउँछन्।
26हे याहवेह, मेरा परमेश्वर, मलाई मदत गर्नुहोस्;
तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्;
27ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्;
हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्!
28तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्;
मलाई आक्रमण गर्नेहरू लाजमा परून्;
तर तपाईंको सेवक रमाओस्!
29मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्,
र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्!
30म मेरा ओठले याहवेहलाई उच्च प्रशंसा गर्नेछु;
आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु।
31किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि
उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 109: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.