YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107

107
पाँचौँ खण्ड
भजनसंग्रह 107–150
भजन 107
1याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।
2याहवेहले छुटकारा दिनुभएकाहरूले
वैरीहरूका हातबाट छुटाइएकाहरूले,
3विभिन्‍न देशहरूबाट,
पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:
4कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्,
र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।
5तिनीहरू भोक र प्यासले दुर्बल भई
प्राण जालाजस्तै भइसकेका थिए।
6तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।
7उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर,
तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो।
8उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति,
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
9किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,
र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ।
10कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए,
कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्‍ट भोगिरहेका थिए,
11किनकि तिनीहरूले परमेश्‍वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए
र सर्वोच्‍च परमेश्‍वरको योजनालाई तिरस्कार गरेका थिए।
12यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो;
तिनीहरूले ठक्‍कर खाए, तर मदत गर्नलाई कोही थिएन।
13तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।
14उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो;
र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।
15उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;
16किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ,
र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
17कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने,
र आफ्नै अधर्मका कारण कष्‍ट भोगे।
18तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्‍कै भए,
र मृत्युका ढोका नजिक पुगे।
19तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।
20उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो,
तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।
21उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
22तिनीहरूले धन्यवादका बलि चढाऊन्
र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!
23कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए;
तिनीहरू महासागरका व्यापारीहरू थिए।
24तिनीहरूले याहवेहका कामहरू देखे,
गहिरो सागरमा तिनीहरूले उहाँका अद्‌भुत कार्यहरू देखे।
25किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो,
जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।
26छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे;
यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।
27तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे;
तिनीहरूका सबै सिपहरू बेकार साबित भए।
28तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।
29उहाँले आँधीलाई शान्त पार्नुभयो;
समुद्रका छालहरू साम्य भए।
30आँधी शान्त हुँदा तिनीहरू खुशी भए;
र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्‍याउनुभयो।
31उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति
तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!
32तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्‍च पारून्,
र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!
33उहाँले नदीहरूलाई मरुभूमिमा,
र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।
34त्यहाँका बासिन्दाहरूका दुष्‍टताको कारणले गर्दा,
मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।
35उहाँले मरुभूमिलाई तालमा
र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;
36उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो,
र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।
37तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए,
अनि प्रशस्त उब्जनी कटनी गरे;
38उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो;
अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।
39त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा,
तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;
40उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ,
र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।
41तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो,
र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।
42धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्,
तर सबै दुष्‍टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।
43जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्,
र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 107: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्