हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ,
अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन,
ताकि तिमीले विवेकलाई कायम राख्न सक,
र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।
किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ,
र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
तापनि आखिरमा त्यो पित्तजस्तै तितो,
र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्,
त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।
त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन;
त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।
अब, हे मेरा छोराहरू, मेरो कुरा सुन,
म जे भन्छु, त्यसबाट तर्किएर नजाओ!
त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस,
त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ,
र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ,
अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्,
र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।
जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ,
जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।
तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ,
र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!
मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ,
र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।
परमेश्वरका मानिसहरूको सभामा,
म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
आफ्नै भाँडाको पानी पिऊ,
र आफ्नै कुवाबाट बगेको पानी पिऊ!
के तिम्रा मुहानहरू सडकतिर,
र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?
त्यो तिम्रै निम्ति मात्र होस्,
त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
तिम्रो मुहान धन्यको होस्;
र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
मायालु मृग, राम्री हरिणीजस्तै,
त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्,
तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।