प्रभुमा सधैं आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्विन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गर। तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूहो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो ठीक छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमको योग्य छ, जे कुरो सराहनीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने, यी नै कुराहरूको विचार गर। जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौं अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
अन्त्यमा, म प्रतिको तिमीहरूको वास्ता फेरि पलाएकोमा, म प्रभुमा अत्यन्तै आनन्दित छु। वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ। म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन, किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु। म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
मेरो कष्टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ कि, तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट विदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एकपटक भन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु। मैले पूरा मोल प्राप्त गरेको छु, र यो मेरो लागि पर्याप्त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ, किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्त गरेको छु। त्यो मिठो बास्नादार भेटी, परमेश्वरलाई ग्रहणयोग्य र प्रसन्न तुल्याउने बलिदान भएको छ। र मेरा परमेश्वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
हाम्रा परमेश्वर पितालाई सदा-सर्वदाको लागि महिमा होस्। आमेन!