गन्ती 28
28
दैनिक भेटीहरू
1याहवेहले मोशालाई भन्नुभयो, 2इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू। 3तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू। 4एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू। 5त्यससँग एक एपाको दशौँ भाग#28:5 लगभग 1.6 किलो मसिनो पिठोसँग एक चौथाइ हिन#28:5 लगभग 1 लिटर पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू। 6याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्नादार अन्नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो। 7त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू। 8साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्नादार अग्निबलि हो।
शब्बाथ दिनका भेटीहरू
9“शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग#28:9 लगभग 3.2 किलो मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्नबलि भेटी चढाउनू। 10योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक हरेक शब्बाथ दिनमा चढाइने होमबलि हो।
मासिक भेटीहरू
11“प्रत्येक महिनाको पहिलो दिन याहवेहकहाँ होमबलिका लागि दुई वटा साँढे, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। 12प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग#28:12 लगभग 5 किलो मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्नबलि हुनुपर्छ; 13अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्नादार आगोद्वारा चढाइने अन्नबलि हो। 14प्रत्येक साँढेसँग लगभग आधा हिन दाखमद्यको अर्घबलि होस्। भेडासँग एक तिहाइ हिन र प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। योचाहिँ प्रत्येक वर्षको प्रत्येक औँसीमा चढाउने मासिक होमबलि हो। 15अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ।
निस्तार चाड
16“पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ। 17त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू। 18यस चाडको पहिलो दिन पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्ना दैनिक काम नगर्नू। 19याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू। 20अन्नबलिका लागि प्रत्येक साँढेका निम्ति जैतुनको तेलसँग मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठो; साँढभेडासँग दश भागको दुई भाग मसिनो पिठो; 21र सातै वटा थुमाहरू हरेकसँग दश भागको एक भाग पिठोको अन्नबलि तयार गर्नू। 22त्यसमा पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका तिमीहरूका प्रायश्चितका लागि लिनू। 23बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू। 24यस प्रकारले याहवेहलाई मनपर्दो बास्नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ। 25सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।”
साताहरूका चाड
26अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू। 27दुई वटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूका होमबलि याहवेहलाई मनपर्दो बास्नादार अन्नबलिको रूपमा चढाउनू। 28प्रत्येक साँढेसँग अन्नबलिका लागि एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलसँग मिसाएको; भेडासँग दश भागको दुई भाग मसिनो पिठो; 29र प्रत्येक सात वटा थुमाहरूसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। 30तिमीहरूका पापको प्रायश्चितका निम्ति एउटा बोका पनि लिनू। 31यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्चित रूपमा निष्खोट हुनुपर्छ।
अहिले सेलेक्ट गरिएको:
गन्ती 28: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.