गन्ती 25
25
मोआबले इस्राएललाई प्रलोभनमा पारेका
1जब इस्राएलीहरू शित्तीमको बेँसीमा बसे, तब मोआबी स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध राख्न थाले। 2ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे। 3यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो।
4याहवेहले मोशालाई भन्नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।”
5अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।”
6तब इस्राएलीहरू भेट हुने पालको प्रवेशद्वारमा रोइरहेका अवस्थामा एक जना इस्राएली पुरुषले मोशा र सारा इस्राएली समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए। 7जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए। 8अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो। 9तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो।
10याहवेहले मोशालाई भन्नुभयो, 11“पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ। 12यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु। 13त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्चित गर्यो।”
14मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो। 15अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए।
16याहवेहले मोशालाई भन्नुभयो, 17“मिद्यानीहरूलाई शत्रुलाई झैँ आक्रमण गर्, र तिनीहरूलाई मार्। 18किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।”
अहिले सेलेक्ट गरिएको:
गन्ती 25: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.