त्यसपछि इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा पुगे। अनि यरीहोको पारिपट्टि यर्दनको किनारमा छाउनी हालेर बसे। सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए। अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो। मोआबीहरूले मिद्यानका प्रधानहरूलाई भने, “यस समुदायले गोरुले चरनको घाँस स्वाहा पारेझैँ, हाम्रा चारैतिर भएका हरेक कुराहरूलाई स्वाहा पार्नेछ।” त्यस समयमा सिप्पोरका छोरा बालाक मोआबका राजा थिए। तिनले बओरका छोरा बालाम, जो आफ्नो जन्मस्थल यूफ्रेटिस नदीको छेउ पतोरमा बसेका थिए, उनलाई बोलाउन भनी राजदूतहरू पठाए। बालाकले भने: “इजिप्टबाट एउटा जाति निस्केर आएको छ; तिनीहरू पूरा देश नै ढाक्ने गरी मेरै सिमानामा आएर बसेका छन्। अब तपाईं आउनुहोस्, र यी मानिसहरूलाई श्राप दिनुहोस्; किनकि तिनीहरू मेरा निम्ति अति नै शक्तिशाली छन्। सायद त्यसपछि भने म तिनीहरूलाई जित्न सकुँला र देशबाट धपाउन सकुँला। किनकि म जान्दछु, तपाईंले जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूले आशिष् पाउँछन् र जसलाई श्राप दिनुहुन्छ, तिनीहरूले श्राप पाउँछन्।” मोआब र मिद्यानका प्रधानहरू जोखना हेर्नका निम्ति दिइएको रकम लिएर गए। जब तिनीहरू बालामकहाँ आइपुगे, तब तिनीहरूले तिनलाई बालाकले भनेका कुरा भने। बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे। परमेश्वर बालामकहाँ आउनुभयो र सोध्नुभयो, “तँसँग भएका यी मानिसहरू को हुन्?” बालामले परमेश्वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ: ‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ” तर परमेश्वरले बालामलाई भन्नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।” भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।” यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।” त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए। तिनीहरू बालामकहाँ आएर भने: “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्। किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।” तर बालामले तिनीहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिए तापनि याहवेह मेरा परमेश्वरको आज्ञाभन्दा बाहिर ठूलो होस् वा सानो, म कुनै काम गर्न सक्दिनँ। यसैले आज राति यहीँ बस्नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।” त्यस रात परमेश्वर बालामकहाँ आउनुभयो र भन्नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।”
गन्ती 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 22:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू