YouVersion लोगो
खोज आइकन

गन्‍ती 22:1-20

गन्‍ती 22:1-20 सरल नेपाली

इस्राएलीहरू अघि बढे र मोआबको समथर भूमिमा छाउनी हाले। त्‍यो ठाउँ यर्दनको पूर्वमा यरीहोको सामुन्‍नेपट्टि पर्थ्‍यो। सिप्‍पोरको छोरो मोआबको राजा बालाकले इस्राएलीहरूको सङ्‍ख्‍या कति छ अनि एमोरीहरूलाई के गरेका थिए, सुने। त्‍यो सुनेर तिनी र तिनका प्रजा सबै डराए। मोआबीहरूले मिद्यानीहरूका अगुवाहरूलाई भने, “साँढेले चरनमा घाँस खाएर सिध्याएजस्‍तै यी इस्राएलीहरूका हुलले हाम्रा चारैपट्टि भएका सबै कुराहरू ध्‍वंस पार्नेछन्।” यसकारण बालाक राजाले बओरको छोरो बालामलाई बोलाउन दूतहरू पठाए। बालाम त्‍यस बेला यूफ्रेटिस नदीको छेउमा अमाऊ देशको पतोरमा थिए। तिनी भएको ठाउँमा दूतहरू बालामको यो खबर लिई आए, “म तिमीलाई यो खबर दिँदै छु, मिश्रबाट एउटा जाति निस्‍की आएको छ। ती मानिसहरू चारैतिर फैलिएर जाँदै छन् र हाम्रो देश कब्‍जा गर्ने धम्‍की दिँदै छन्। तिनीहरूको सङ्‍ख्‍या हाम्रो भन्दा धेरै बढी छ। यसकारण तिमी आएर तिनीहरूलाई मेरो खातिर सराप देऊ। त्‍यसो भए सायद हामी तिनीहरूलाई जितेर देशबाट बाहिर धपाउन सक्‍नेछौं। म जान्‍दछु कि तिमीले आशीर्वाद दिँदा मानिसहरूले आशिष् पाउँछन् अनि तिमीले सराप दियौ भने त्‍यो सराप तिनीहरूलाई लाग्‍दछ।” त्‍यसरी मोआबी र मिद्यानी अगुवाहरूले त्‍यस सरापको लागि तिर्नुपर्ने मोल लिएर गई बालामलाई बालाकको समाचार दिए। बालामले तिनीहरूलाई भने, “आज राती यहीँ बिताओ। परमप्रभुले मलाई के भन्‍नुहुन्‍छ, त्‍यो म भोलि तिमीहरूलाई सुनाउनेछु।” यसकारण मोआबी अगुवाहरू बालामसित बसे। परमेश्‍वरले बालामकहाँ आएर सोध्‍नुभयो, “यी तँसित बास गर्ने मानिसहरू को हुन्?” बालामले जवाफ दिए, “मोआबको राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका हुन्। मिश्रबाट आएको एउटा जातिले सारा देश ढाकिसक्‍यो भन्‍ने समाचार पठाएका छन्। बालाक चाहन्‍छन् उनको खातिर म ती मानिसहरूलाई सराप दिऊँ र उनले तिनीहरूसित लडाइँ गरी तिनीहरूलाई धपाउन सकून्।” परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ यी मानिसहरूसित नजा र इस्राएलीहरूलाई सराप नदे किनभने मैले तिनीहरूलाई आशिष् दिएको छु।” भोलिपल्‍ट बिहान बालाम बालाकका दूतहरूकहाँ गएर भने, “तिमीहरू आफ्‍ना घर फर्क। परमप्रभुले मलाई तिमीहरूसित जान दिनुभएन।” यसकारण तिनीहरू बालाककहाँ फर्की गए र बालाम आउन राजी नभएको कुरा तिनलाई बताए। तब बालाकले अघिको भन्दा धेरै तथा प्रभावशाली अगुवाहरूलाई बालामकहाँ पठाए। तिनीहरूले गई बालाकको समाचार बालामलाई दिए, “मकहाँ आउनलाई कुनै कुराले तिमीलाई नरोकोस्! म तिमीलाई ठूलो इनाम दिनेछु र तिमीले जे भन्‍छौ, त्‍यही गर्नेछु। तिमी आएर यी मानिसहरूलाई मेरो खातिर सराप देऊ।” तर बालामले उत्तर दिए, “बालाकले मलाई आफ्‍नो राजदरबारका सारा सुन र चाँदी दिए भने पनि म परमप्रभु मेरा परमेश्‍वरको आज्ञा कुनै सानो कुरामा पनि तोड्‍न सक्‍दिनँ। तर अघि आउनेहरूजस्‍तै तिमीहरू पनि यो रात यहीँ बास बस र परमप्रभुले मलाई अर्को कुरा भन्‍नुहुन्‍छ कि म बुझ्‍नेछु।” त्‍यस रात बालामकहाँ आएर परमेश्‍वरले भन्‍नुभयो, “यदि यी मानिसहरू तँलाई तिनीहरूसँग लैजान भनी आएका हुन् भने जान तयार हो। तर म जे भन्‍छु, त्‍यो मात्र तैँले गर्नू।”

गन्‍ती 22 पढ्नुहोस्