गन्ती 13:28-33

गन्ती 13:28-33 NCV

तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ। अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।” त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्‍चय नै विजय हासिल गर्न सक्छौँ।” तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।” तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्। हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्‍टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्‍कै हामीलाई त्यस्तै ठान्छन्।”

गन्ती 13 पढ्नुहोस्