गन्ती 12
12
मिरियम र हारूनले मोशाको विरोध गरेका
1मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले। 2तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्नुभयो।
3(मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।)
4याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए। 5त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए, 6तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो वचन सुन:
“यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने,
म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ;
अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।
7तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन;
त्यो त मेरो सारा घरानामा विश्वासयोग्य छ।
8त्यससँग म आमने-सामने कुरा गर्छु,
उखान-टुक्कामा होइन। तर स्पष्ट गरी बोल्दछु।
त्यसले याहवेहको आकृतिलाई देख्दछ।
त्यसो भए किन तिमीहरू मेरो सेवक
मोशाको विरुद्धमा बोल्न डराएनौ?”
9याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो।
10जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे। 11अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्। 12यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।”
13यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!”
14याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।” 15यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।
16त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे।
अहिले सेलेक्ट गरिएको:
गन्ती 12: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.