YouVersion लोगो
खोज आइकन

नहेम्याह 4:6-20

नहेम्याह 4:6-20 NCV

यसकारण हामीले पर्खाल त्यसको उचाइको आधा भाग नपुगेसम्म पुनर्निर्माण गर्‍यौँ; किनकि मानिसहरूले आफ्ना सम्पूर्ण हृदयले काम गरेका थिए। तर जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदका मानिसहरूले यरूशलेमको पर्खालको काम प्रगति भइरहेको छ र भत्किएका ठाउँहरू पुरिँदैछ भन्‍ने कुरा सुने तब तिनीहरू साह्रै रिसाए। तिनीहरूले आएर यरूशलेमको विरुद्धमा युद्ध गर्न र यस सहरको विरुद्धमा खलबल गराउन एकसाथ मिलेर षड्यन्त्र गरे। तर हामीले आफ्ना परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ, र यस धम्कीको सामना गर्नलाई दिनरात पहरेदार राख्यौँ। त्यसपछि यहूदाका मानिसहरूले भने, “मजदुरहरूको बल कमजोर भइरहेछ, र त्यहाँ फोहोर अति धेरै छ; यसकारण हामीले पर्खालको पुनर्निर्माण गर्न सक्दैनौँ।” तब हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउन वा हामीलाई देख्नभन्दा अगाडि नै, हामी तिनीहरूका बीचमा जानेछौँ, तिनीहरूलाई मारिदिनेछौँ र यस कामको अन्त्य गरिदिनेछौँ।” तब तिनीहरूको छेउमा बस्‍ने यहूदीहरू आए, र हामीलाई दश पटकभन्दा बढी यसो भने, “तपाईंहरू जता फर्के तापनि तिनीहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।” यसकारण मैले केही मानिसहरूलाई पर्खालको सबैभन्दा तल्‍लो खुला ठाउँहरूमा तिनीहरूका परिवारअनुसार तिनीहरूका तरवारहरू, भालाहरू र धनुकाँड लिएर बस्‍ने आदेश दिएँ। मैले सबै कुराहरू हेरिसकेपछि, म खडा भएर अधिकारीहरू, अधिकृतहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिमीहरू तिनीहरूसित नडराओ। महान् र भययोग्य प्रभुलाई याद गर; अनि आफ्ना दाजुभाइहरूको निम्ति, आफ्ना छोराहरूका र छोरीहरूका निम्ति, आफ्ना पत्नीहरू र आफ्ना घरहरूको निम्ति युद्ध गर।” जब हाम्रा शत्रुहरूले हामीलाई तिनीहरूको योजनाबारे थाहा भयो, र परमेश्‍वरले त्यसलाई विफल पार्नुभयो भन्‍ने कुरा सुने, हामी सबै पर्खालको पुनर्निर्माण काम गर्न फर्क्यौँ, र हामी प्रत्येक आ-आफ्ना काममा लाग्यौँ। त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरू काममा लागिरहे भने अर्को आधा भाग मानिसहरू भाला, ढाल, धनु र हतियारले सुसज्जित भइबसे; अनि यहूदाका सारा मानिसहरूको पछिल्तिर अगुवाहरू खडा भए, जुन मानिसहरूले पर्खाल बनाइरहेका थिए। सामान बोक्ने कामदारहरूले एक हातले काम गर्थे, र अर्को हातले हतियार बोक्थे। अनि निर्माण काम गर्नेहरू आफ्नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्ने मानिसहरूचाहिँ मसँग बस्थे। तब मैले अगुवाहरूलाई, अधिकारीहरूलाई र बाँकी मानिसहरूलाई यसो भनेँ, “काम बढिरहेको र फैलिएको छ; अनि हामीहरू पर्खालमा एक-अर्कादेखि निकै टाढा-टाढा छौँ। तिमीहरूले जुन ठाउँमा तुरही बजेको आवाज सुन्छौ, त्यहीँ नै हामीहरूसँग भेला हुनू। हाम्रा परमेश्‍वरले हाम्रा निम्ति युद्ध गर्नुहुनेछ!”

नहेम्याह 4 पढ्नुहोस्