YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 4:6-20

नहेम्‍याह 4:6-20 सरल नेपाली

हामीले पर्खाल बनाइरह्यौं र चाँडै त्‍यसको आधा उचाइसम्‍म उठायौं। मानिसहरू काम सिध्‍याउन उत्‍सुक थिए। हाम्रो यरूशलेमको पर्खाल बनाउने काम अघि बढिरहेको छ र पर्खालका प्वालहरू पुरिंदै छन् भन्‍ने कुरा सुनेर सन्‍बलत, तोबिया, अरबी अम्‍मोनी र अश्‍दोदीहरू औधी रिसाए। तब तिनीहरूले आएर यरूशलेममाथि आक्रमण गर्ने र खलबल मच्‍चाउने जाल रचे। तर हामीले हाम्रा परमेश्‍वरसित बिन्‍ती गरिरह्यौं र रात-दिन पहरा गर्न मानिसहरू खटायौं। यहूदाका मानिसहरूले यस्‍तो एउटा गीत गाउँथे: “हामी बोझ बोकेर दुर्बल भएका छौं; यति बिघ्‍न धुलो-कसिङ्गर बोकी फाल्‍नुपरेको छ; आज कसरी हामीले पर्खाल बनाउन सकौंला र?” हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउनु वा देख्‍नुअघि नै हामी तिनीहरूमाथि हमला गरेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई नाश पारिदिनेछौं। तर शत्रुहरूका बीचमा बास गर्ने यहूदीहरू शत्रुले हाम्रा विरुद्धमा गरेका युक्तिहरूको बारेमा हामीलाई होशियार गराउन घरीघरी आइरहन्‍थे। यसकारण मैले मानिसहरूलाई तरवार, भाला र धनु-काँड भिर्नलाई र आ-आफ्‍ना कुलअनुसार पर्खाल बनिनसकेका ठाउँ-ठाउँमा पहरा राखिदिएँ। मानिसहरू चिन्‍तित देखिन्‍थे। यसकारण तिनीहरूलाई र तिनका अगुवा र भारदारहरूलाई मैले यसो भनें, “शत्रुहरूसँग नडराऔं। हाम्रा परमप्रभु कति महान् र भययोग्‍य हुनुहुन्‍छ भनी याद गर र आफ्‍ना स्‍वदेशी भाइ-बन्‍धुहरू, छोरा-छोरीहरू, स्‍वास्‍नीहरू र घरका लागि लडाइँ गर।” हाम्रा शत्रुहरूले बुझे कि हामीलाई तिनीहरूले गरिरहेका जालसाजी पत्ता लागेको थियो। परमेश्‍वरले तिनीहरूको युक्ति भताभुङ्ग पारिदिनुभएको तिनीहरूले थाहा पाए। हामी आफ्‍ना पर्खाल बनाउने काममा लागिरह्यौं। त्‍यसपछि मेरा मानिसहरूले आधासरो काम गर्थे र आधासरोले चाहिँ झिलम पहिरेर भाला, ढाल र धनु-काँड लिएर पहरा दिन्‍थे। हाम्रा अगुवाहरूले पनि पर्खाल बनाउने काममा लागेका मानिसहरूलाई पूरा आड, भरोसा र मद्दत दिए। पर्खाल बनाउने सामान बोक्‍ने भरियाहरू पनि एक हातले काम गर्थे र अर्को हातले हतियार बोक्‍थे। अनि काम गर्ने मानिस प्रत्‍येकले कम्‍मरमा एउटा तरवार भिरेको हुन्‍थ्‍यो। तुरही फुकेर सावधान गराउने मानिससँग रहन्‍थ्‍यो। अगुवा, भारदार र सबै मानिसहरूलाई मैले भनें, “काम टाढासम्‍म फैलिएर गएको छ र पर्खालमाथि हामी एक-अर्कादेखि टाढा-टाढामा हुन्‍छौं। जब तिमीहरूले तुरहीको स्‍वर सुन्‍छौ, मेरा चारैपट्टि भेला होओ। हाम्रा परमेश्‍वरले हाम्रो निम्‍ति लडाइँ गर्नुहुनेछ।”

नहेम्‍याह 4 पढ्नुहोस्