YouVersion लोगो
खोज आइकन

मर्कूस 7:24-37

मर्कूस 7:24-37 NCV

येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, अनि यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन। वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्‍नासाथ आई, र उहाँको पाउमा परी। त्यो स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिई। उसले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिनलाई विन्ती गरी। उहाँले त्यसलाई भन्‍नुभयो, “पहिला छोराछोरीहरूलाई चाहेजति खान देऊ; किनकि छोराछोरीको रोटी लिएर कुकुरहरूको अघि फालिदिनु उचित हुँदैन।” त्यसले जवाफ दिई, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि छोराछोरीले खसालेका टुक्राहरू खान्छन्।” तब उहाँले त्यसलाई भन्‍नुभयो, “यस्तो जवाफको निम्ति, तिमी जाऊ; भूतले तिम्री छोरीलाई छोडिसकेको छ।” ऊ घर गई, अनि आफ्नी छोरीलाई ओछ्यानमा पस्रिरहेकी र भूत निस्किसकेको भेट्टाई। तब येशू टायरका छेउछाउ छोडेर सीदोन हुँदै गालीलको समुद्र अनि डेकापोलिसको क्षेत्रतिर जानुभयो। त्यहाँ केही मानिसहरूले उहाँकहाँ एकजना सुन्‍न नसक्ने र भकभके मानिसलाई ल्याए, अनि त्यस मानिसमाथि आफ्नो हात राखिदिनहुन येशूलाई विन्ती गरे। येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो, र आफ्ना औंलाहरू त्यस मानिसका कानहरूमा लगाउनुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो। उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “ एफाता! ” (जसको अर्थ हो, “खोलिजा!”) यसो हुँदा त्यस मानिसका कानहरू खोलिए, त्यसको जिब्रो चल्यो, र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो। येशूले तिनीहरूलाई यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्‍नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। मानिसहरू आश्‍चर्य चकित भए; अनि तिनीहरूले भने, “उहाँले हरेक कुरो असल गर्नुभएको छ! उहाँले सुन्‍न नसक्नेलाई सुन्‍ने र बोल्न नसक्नेलाई समेत बोल्ने तुल्याउनुहुन्छ।”

मर्कूस 7 पढ्नुहोस्