YouVersion लोगो
खोज आइकन

मर्कूस 7:24-37

मर्कूस 7:24-37 NNRV

त्‍यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्‍नुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍थ्‍यो, तर उहाँ गुप्‍त रहन सक्‍नुभएन। त्‍यसै बेला एउटी स्‍त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्‍यस स्‍त्रीको छोरीलाई अशुद्ध आत्‍मा लागेको थियो। त्‍यो सिरियाको फोनिकेमा जन्‍मेकी एउटी ग्रीक स्‍त्री थिई। त्‍यस स्‍त्रीले आफ्‍नी छोरीबाट भूत निकालिदेऊन्‌ भनी उहाँलाई बिन्‍ती गरी। उहाँले त्‍यसलाई भन्‍नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।” तर त्‍यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्‍छन्‌।” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्‍केर गएको छ।” त्‍यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्‍यसबाट भूतचाहिँ निस्‍किसकेको थियो। टुरोसको इलाकाबाट निस्‍केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो। त्‍यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसमाथि हात राखिदिनोस्‌ भनी उहाँलाई बिन्‍ती गरे। त्‍यसलाई भीड़बाट अलग्‍गै एकान्‍तमा लगेर येशूले आफ्‍ना औँला त्‍यसका कानमा लगाउनुभयो। त्‍यसपछि थुकेर त्‍यसको जिब्रो छुनुभयो। अनि स्‍वर्गतिर हेरेर लामो सास लिई त्‍यसलाई भन्‍नुभयो, “इफ्‍फाता,” अर्थात्‌ “खोलिजा।” त्‍यति नै बेला त्‍यसका कान खोलिए, र त्‍यसको जिब्रोको बन्‍धन फुक्‍यो, र त्‍यो स्‍पष्‍ट बोल्‍न लाग्‍यो। “यो कसैलाई नभन्‍नू,” भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्‍थ्‍यो, झन्‌ बढ़ी उत्‍साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे। मानिसहरू आश्‍चर्यले अत्‍यन्‍तै चकित भए, र भन्‍न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्‍ने र गूँगालाई बोल्‍नेसम्‍म पनि तुल्‍याउनुहुन्‍छ।”