फेरि येशू डुङ्गामा चढी तालपारि जानुभयो। उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँका चारैतिर भेला भयो। तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे, अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।” तब येशू तिनीसित जानुभयो।
एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो। त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्। तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्। जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्; किनकि तिनले सोचेकी थिइन्, “यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?”
उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’ ”
तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो। तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्। उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्टबाट मुक्त भयौ।”
येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?”
उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्नाबाहेक अरूलाई आउन दिनुभएन। जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो। उहाँ भित्र पसेर तिनीहरूलाई भन्नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।” तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे।
उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो। उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)। तब त्यो केटी तुरुन्तै जुरुक्क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।