फेरि येशू डुङ्गामा चढी तालपारि जानुभएपछि, उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँको चारैतिर भेला भयो। तब सभाघरका शासकहरूमध्ये याइरस नाउँ भएको एकजना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे, अनि उहाँलाई विनम्र अनुरोध गरे, “मेरी सानी छोरी मर्नै लागेकी छ। दया गरी आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, अनि त्यो निको होस्; र त्यो बाँचोस्।” तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो, अनि उहाँको चारैतिर ठेलमठेला भयो। अनि त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिई। त्यसले धेरै चिकित्सकहरूबाट धेरै कष्ट भोगेकी अनि आफूसित भएको सबै खर्च गरिसकेकी थिई, र पनि लाभ हुनुको साटो अझ खराब अवस्थामा पुगेकी थिई। जब त्यसले येशूको विषयमा सुनी, त्यो त्यस भीडमा उहाँको पछिल्तिर आएर उहाँको वस्त्र छोई, किनकि त्यसले सोचेकी थिई, “यदि मैले उहाँको वस्त्रमात्र छोएँ भने पनि म निको हुनेछु।” तुरुन्तै त्यसको रगत बग्न बन्द भयो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई। येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “कसले मेरो वस्त्र छोयो?” उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूको भीडले तपाईंलाई घचेटिरहेको देख्दैहुनुहुन्छ, र पनि तपाईं कसरी सोध्न सक्नुहुन्छ, ‘कसले मलाई छोयो?’ ” तर येशूले उहाँलाई कसले छोयो भनी चारैतिर हेरिरहनुभयो। तब आफूमा के भएको थियो, सो जानेर त्यो स्त्री आई, र उहाँको पाउमा घोप्टो परी, अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताई। उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ, तिमी आफ्नो कष्टबाट मुक्त भयौ।”
मर्कूस 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 5:21-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू