YouVersion लोगो
खोज आइकन

मर्कूस 2

2
येशूले पक्षघातीलाई क्षमा गर्नुभएको अनि निको पार्नुभएको
1केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भनी सुने। 2त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई वचन प्रचार गर्नुभयो। 3अनि त्यहाँ चारजना मानिसहरूले एकजना पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। 4तर भीडको कारणले गर्दा येशूसम्म पुर्‍याउन नसकेकाले, तिनीहरूले येशूको ठीक मास्तिरको छानो भत्काए, अनि त्यो पस्रिरहेको पक्षघाती ओछ्यानसहित तल ओरालिदिए। 5जब येशूले तिनीहरूका विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
6यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए र आफैमा विचार गर्दैथिए, 7“यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्‍वरनिन्दा गरिरहेका छन्! परमेश्‍वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?”
8तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्‍ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? 9यस पक्षघातीलाई के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्‍नु? 10तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले पक्षघातीलाई भन्‍नुभयो, 11“म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” 12त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यसले सबैलाई अचम्म तुल्यायो, अनि हरेकले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौं!”
येशूले लेवीलाई बोलाउनुभएको
13एकपल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, अनि उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। 14हिँड्दै गर्नुहुँदा उहाँले अल्फयसको छोरो लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँलाई पछ्याए।
15एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा, धेरैजना कर उठाउनेहरू र पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। 16जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
17यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
येशूलाई उपवासको विषयमा प्रश्न
18एकपल्ट यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्‍नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?”
19येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्‍न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्। 20तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, अनि त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।
21“कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्छ भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, अनि त्यो फटाइ झन् नराम्रो हुन्छ। 22त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो छालाको थैलोमा खन्याउँदैन, नत्र भने त्यस दाखमद्यले छालाहरू फुट्छन्, अनि दाखमद्य र छालाको थैलो दुवै नष्‍ट हुनेछन्। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ छालाको थैलोमै राख्नुपर्दछ।”
येशू विश्रामदिनको प्रभु
23एक विश्रामदिन येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरू पनि हिँड्दै गर्दा तिनीहरूले खानका निम्ति अन्‍नका बाला टिप्न थाले। 24फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले विश्रामदिनमा उचित नहुने काम गरिरहेका छन्?”
25उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ, दाविदले आफू र आफ्ना साथीहरू भोकाएको र खाँचोमा परेका बेला, के गरेका थिए? 26प्रधान पूजाहारी अबियाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पूजाहारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”
27तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “विश्रामदिन मानिसहरूको लागि बनाइएको हो, तर मानिस विश्रामदिनको निम्ति होइन। 28यसकारण मानिसका पुत्र विश्रामदिनको पनि प्रभु हुन्।”

अहिले सेलेक्ट गरिएको:

मर्कूस 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्