एकाबिहानै, मुख्य पूजाहारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू अनि सम्पूर्ण महासभा मिलीकन एउटा निष्कर्षमा आइपुगे। अनि तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।
पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्नुभएझैं हो।”
ती मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।”
तर येशूले कुनै जवाफ दिनुभएन, अनि पिलातस छक्क परे।
अब चाडको समयमा मानिसहरूले विन्ती गरेर मागेको एकजना कैदीलाई छोडिदिने चलन थियो। झ्यालखानामा अरू विद्रोहीहरूसित एकजना बारब्बा नाउँ भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो। अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गर्ने विन्ती गरे।
पिलातसले सोधे, “के मैले यहूदीहरूको राजालाई तिमीहरूको निम्ति छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” किनकि मुख्य पूजाहारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्ने पिलातसलाई थाहा थियो। तर मुख्य पूजाहारीहरूले भीडलाई उक्साएर तिनीहरूले पिलातसलाई बारब्बालाई छोडिदिऊन् भन्न लगाए।
पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूको राजा भनेकोलाई चाहिँ म के गरूँ?”
तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?”
तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
भीडलाई सन्तुष्ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लाउन लगाए, अनि उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
सिपाहीहरूले येशूलाई महल (अर्थात्, प्रेटोरियम) भित्र लगे, अनि सिपाहीहरूका जम्मै पल्टनलाई बोलाए। तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, अनि काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। अनि तिनीहरूले उहाँलाई “यहूदीहरूको राजाको जय!” भन्दै कराए। तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काए अनि उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामुन्ने घुँडा टेकेर झुके। अनि उहाँको अपमान गरिसकेपछि, तिनीहरूले त्यो बैजनी वस्त्र फुकालिदिए, र उहाँकै वस्त्र उहाँलाई लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोनलाई, जो गाउँबाट आइरहेका बेला तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउनुभएन।