त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।” उहाँले पत्रुस, याकोब र यूहन्नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्न र विचलित हुनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
उहाँ फेरि पर जानुभयो र दोहोर्याएर उही प्रार्थना गर्नुभयो जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्।
उहाँ तेस्रो पल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो।
त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।” यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो। ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए। तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्यो र उसको कान च्वाट्टै काटिदियो।
येशूले भन्नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ? म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।” तब सबैले उहाँलाई त्यागेर भागे।
एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते, त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।
तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए। पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले।
मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्। धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन।
तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए: “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।” तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
तब प्रधान पुजारीले तिनीहरूका सामु उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन।
प्रधान पुजारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्ट होस्?”
येशूले भन्नुभयो, “म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? तिमीहरूले ईश्वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?”
तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।