YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 14:32-64

मर्कूसको सुसमाचार 14:32-64 NERV

येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।” येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो। उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।” अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्। उहाँले प्रार्थना गर्नुभयो, “ अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।” तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ? के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।” फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो। फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा फर्कनु भयो। उहाँले तिनी हरूलाई सुतिरहेकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो। येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो। उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।” जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए। यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।” यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए। तब मानिसहरूले झम्टेर येशूलाई पक्रे। कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो। तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ? प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ। तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।” त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे। एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलको वस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रने कोशिश गरे। तर त्यसले त्यो मलमलको बस्त्र छाड्यो अनि बस्त्र विहीन् भएर भाग्यो। येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए। पत्रुसले येशूलाई पछ्याउँदै थियो, तर उ उहाँका त्यत्ति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म पछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो ताप्दै थियो। मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विरुद्ध झूटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएनन्। अनेकौं मानिसहरू आए अनि येशूको विरूद्ध झूटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो। त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने, “हामीहरूले यस मानिसले भनेका सुनेका छौं, ‘मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हुँदैन।’” तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्। त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा धेरै बोले। आफ्नो विरूद्धमा आएको यस्तो आरोपहरूको विरुद्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँच्चो कुराहरू गरिरहेका छन्?” तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हुँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।” जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र? तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?” सबैले येशूलाई भुल गरेको ठहराए। अनि मार्नू पर्छ भने।