YouVersion लोगो
खोज आइकन

मर्कूस 14:12-42

मर्कूस 14:12-42 NCV

अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?” यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ। ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’ उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।” ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे। जब साँझ पर्‍यो, येशू बाह्रै जनासित आइपुग्नुभयो। जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?” उहाँले भन्‍नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ। मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ। म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आजै राति दुई पल्ट भाले बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने। त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।” उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो। उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ फेरि पर जानुभयो र दोहोर्‍याएर उही प्रार्थना गर्नुभयो जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्। उहाँ तेस्रो पल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”

मर्कूस 14 पढ्नुहोस्