YouVersion लोगो
खोज आइकन

मर्कूस 12:28-37

मर्कूस 12:28-37 NCV

व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?” येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमेश्‍वर हुनुहुन्छ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।” त्यस मानिसले जवाफ दियो, “ठिक भन्‍नुभयो, गुरुज्यू। तपाईंले ठिक कुरा भन्‍नुभएझैँ, परमेश्‍वर एक हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन। उहाँलाई सम्पूर्ण हृदयले, सम्पूर्ण समझले र सम्पूर्ण बलले प्रेम गर्नु, र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य कुरा हो।” जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन। मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्? दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’ दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।

मर्कूस 12 पढ्नुहोस्