त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दनमा बप्तिस्मा लिनुभयो। जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्न छु।” पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे। यूहन्ना झ्यालखानामा हालिएपछि येशू परमेश्वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। उहाँले भन्नुभयो, “समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर!” जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे। उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथ सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो। मानिसहरू उहाँको शिक्षामा छक्क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो। त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!” येशूले त्यसलाई हकारेर भन्नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!” अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्लायो, र चिच्याएर त्यसबाट निस्क्यो। तब ती मानिसहरू अति छक्क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।”
मर्कूस 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 1:9-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू