YouVersion लोगो
खोज आइकन

मर्कूस 1:1-22

मर्कूस 1:1-22 NCV

परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुआत, यशैया अगमवक्‍ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” “उजाडस्थानमा कराइरहनेको एउटा आवाज, ‘प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सीधा बनाओ।’ ” अनि यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा, पाप क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए। यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू, अनि यरूशलेमका मानिसहरू तिनीकहाँ गए। आफ्ना पापहरू स्वीकार गर्दै, तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे, कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वनमह खान्थे। तिनको सन्देश यस्तो थियो: “मपछि मभन्दा एकजना शक्‍तिशाली आउनुहुनेछ, जसको जुत्ताको फित्ता निहुरेर फुकाउने योग्यको म छैनँ। म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।” त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, अनि यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो। जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको अनि पवित्र आत्मालाई ढुकुरझैं उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसित म अति प्रसन्‍न छु।” पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म रहनुभयो। उहाँ जङ्गली जनावरहरूसित हुनुहुन्थ्यो, अनि स्वर्गदूतहरूले उहाँको सेवाटहल गरे। यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर अनि सुसमाचारमा विश्‍वास गर!” जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु।” तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे। उहाँ अझ अलि पर पुग्नुहुँदा उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। ढिलाइ नगरी उहाँले तिनीहरूलाई बोलाउनुभयो, अनि तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्‍यालादारहरूको साथमा डुङ्गामा छोडे र उहाँलाई पछ्याए। उहाँहरू कफर्नहुममा जानुभयो, अनि जब विश्रामदिन आइपुग्यो, येशू सभाघरमा गएर सिकाउन थाल्नुभयो। मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्‍तिले झैं सिकाउनुहुन्थ्यो।

मर्कूस 1 पढ्नुहोस्