मीका 6
6
इस्राएलको विरुद्धमा याहवेहको मुद्दा
1याहवेहले के भन्नुहुन्छ, ध्यानसँग सुन:
“खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर;
तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्।
2“हे पर्वतहरू हो, याहवेहको अभियोग सुन,
हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ।
किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ;
उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ।
3“हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु?
कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।
4मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ,
र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ।
तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा,
हारून र मिरियमलाई पनि पठाएँ।
5हे मेरा मानिसहरू हो,
मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो,
र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो।
शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर,
ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।”
6म के लिएर याहवेहको सामु आऊँ
र सर्वोच्च परमेश्वरको सामु दण्डवत् गरूँ?
के एक बर्से बाछाहरू लिएर
होमबलि चढाउनलाई म उहाँको सामु आऊँ?
7के याहवेह हजारौँ भेडाहरू,
जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्न हुनुहुन्छ र?
के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ?
मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?
8हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।
अनि याहवेहले तँबाट के चाहनुहुन्छ?
केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;
अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू।
इस्राएलको दोष र सजाय
9सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ—
र तपाईंको नामको भय मान्नु बुद्धि हो,
अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।
10हे दुष्ट घराना, तैँले दुष्ट तरिकाले कमाएको धन
र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?
11के छलको ढक चलाउने
र झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ?
12तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्;
तेरा मानिसहरू झूट बोल्छन्
र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।
13यसकारण तेरा पापहरूको कारण,
तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु।
14तिमीहरूले खानेछौ, तर तृप्त हुनेछैनौ;
तिमीहरूको पेट अझै भोकै रहनेछ।
तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ;
किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।
15तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ;
तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ;
तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।
16तिमीहरूले ओम्रीका नियमहरू
र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ;
तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ।
यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु,
र तिमीहरूका मानिसहरूलाई गिल्लाको निम्ति दिनेछु;
तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।”
अहिले सेलेक्ट गरिएको:
मीका 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.