“माग अनि तिमीहरूलाई त्यो दिइनेछ, खोज अनि तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
“तिमीहरूमध्ये को होला जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? अथवा माछा माग्यो भने उसलाई सर्प देला? यदि तिमीहरू जो दुष्ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने, झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई कति बढी उत्तम उपहारहरू दिनुहुनेछ। यसकारण हरेक कुरामा अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरू तिनीहरूबाट चाहन्छौ, किनकि व्यवस्था र अगमवक्ताहरूको सारांश यही हो।
“साँघुरो ढोकाबाट भित्र पस। किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ: अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। तर जीवनमा पुर्याउने ढोका सानो र बाटो साँघुरो छ, अनि थोरैले मात्र त्यो भेट्टाउनेछन्।
“झूटा अगमवक्ताहरूदेखि होसियार बस। तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटहरूबाट अङ्गुर अनि सिउँडीको बोटबाट अञ्जीर टिप्छन्? यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, अनि एउटा खराब रूखले असल फल फलाउन सक्दैन। असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ, अनि आगोमा फालिनेछ। यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।
“मलाई ‘प्रभु, प्रभु,’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ। त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी गरेनौं, अनि तपाईंको नाउँमा भूतहरू धपाएनौं अनि शक्तिशाली कामहरू गरेनौं?’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले कहिल्यै तिमीहरूलाई चिनेको छैनँ। हे अधर्म काम गर्नेहरूहो, मबाट दूर भइजाओ!’
“यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्छ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि पानी पर्यो, भल आयो, अनि बतास चल्यो र त्यस घरमा बजारियो, र पनि त्यो ढलेन, किनकि त्यसको जग चट्टानमाथि थियो। तर हरेक जसले मेरा यी वचनहरू सुनेर ती अनुसार काम नगर्नेचाहिँ त्यो त्यस मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। अनि पानी पर्यो, भल आयो, अनि बतास चल्यो र त्यसमा बजारियो, अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँको शिक्षामा छक्क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्तिले झैं सिकाउनुहुन्थ्यो।