YouVersion लोगो
खोज आइकन

मत्ती 6:1-18

मत्ती 6:1-18 NCV

“होसियार बस, तिमीहरूका धर्मकर्महरू मानिसहरूले देखून् भनी तिनीहरूका सामु नगर। त्यसो गर्‍यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै प्रतिफल पाउनेछैनौ। “यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघरहरूमा र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैं तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्छु, तिनीहरूले आफ्नो प्रतिफल पूरा पाइसकेका छन्। जब तिमी खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्, र तिम्रो दान गुप्‍तमा होस्; ताकि गुप्‍तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ। “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ, किनकि तिनीहरू अरू मानिसहरूद्वारा देखिनलाई सभाघरहरू अनि सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई यो साँचो कुरा भन्छु, तिनीहरूले आफ्ना प्रतिफल पूरा पाइसकेका छन्। तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो कोठामा गएर ढोका बन्द गर, अनि तिमीहरूका गोप्यमा हुनुहुने पितालाई प्रार्थना गर। तब गोप्य रूपमा गरिएका कामहरू देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ। अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैं नबरबराउनु, किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्। तिनीहरूजस्ता नबन, किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भनी तिमीहरूका पिताले जान्‍नुहुन्छ। “तब तिमीहरू यसरी प्रार्थना गर: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्‍टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदा-सर्वदा तपाईंकै हुन्।’ किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने ता, तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन। “जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस, किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरो भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू उपवास बस्दछौ तब शिरमा तेल लगाओ, अनि आफ्नो मुख धोओ, र तिमीहरू उपवास बसेका छौ भनेर कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्‍तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।

मत्ती 6 पढ्नुहोस्