ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, “पश्चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।” यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको बाटो तयार पार, उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ” यूहन्नाको लुगा ऊँटको रौँले बनेको थियो, अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वनमह थियो। यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए। आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। तर जब तिनले आफूले बप्तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तिनले भने: “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? पश्चात्तापअनुसारको फल फलाओ। अनि आफै ‘हामी अब्राहामका वंशज हौं’ भन्ने नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। “म ता तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।” त्यसपछि येशू यूहन्नाद्वारा बप्तिस्मा लिनलाई गालीलबाट यर्दनमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर के तपाईं मकहाँ आउने?” येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ: सबै धार्मिकता पूरा हुनालाई हाम्रो लागि यो गर्नु नै उचित छ।” तब यूहन्ना राजी भए। येशूले जब बप्तिस्मा लिनुभयो, उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो, अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैं ओर्लंदै आएर आफूमाथि बस्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
मत्ती 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 3:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू