बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”
तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो। अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”
येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो।
त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्लियो अनि चट्टानहरू फुटे। चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे। तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।
जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्चय उहाँ परमेश्वरका पुत्र हुनुहुँदोरहेछ!”
त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए। तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।
साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए। तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्ने हुकुम गरे। अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे, अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए। त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।
अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए। तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ। यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।”
पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।” यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।