येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्नुभयो।” जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्क परे। निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो। त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो। जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्ट भनिने येशूलाई?” किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो। पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्ट भोगेकी छु।” तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए। राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।” पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।” सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।” तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए। तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!” तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए। उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो। तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे। अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले। उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो।
मत्ती 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:11-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू